नेपाल टेलिकमद्वारा गलत सूचनाप्रति सावधानी अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं

नेपाल टेलिकमले हालसालै सामाजिक सञ्जालमा ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा रू. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्ने भ्रामक सूचना फैलिरहेको जनाएको छ। उक्त भ्रामक सामग्रीमा कम्पनीको आधिकारिक लोगोको दुरुपयोग गरिएको छ।

नेपाल टेलिकमले उक्त सूचना पूर्णतः गलत रहेको स्पष्ट गर्दै आफ्नो सेवा सम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतहरू मात्र प्रयोग गर्न अनुरोध गरेको छ। टेलिकमले भनेको छ, "कम्पनीको ब्लु टिकसहितको फेसबुक र एक्स (X) खाता तथा आधिकारिक वेबसाइटमा मात्र भर पर्नुहोस्। अन्य माध्यमबाट आएको सूचना गलत र भ्रामक हुनसक्छ।"

सामाजिक सञ्जालमा फैलिएका यस्ता गलत सूचनाले प्रयोगकर्ताहरूलाई झुक्याउन सक्ने भएकाले नेपाल टेलिकमले सचेत रहन आग्रह गरेको छ।

कम्पनीले यस प्रकारका गतिविधिहरूको विरुद्धमा कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ। साथै, कुनै शंका वा जिज्ञासा भएमा नेपाल टेलिकमको आधिकारिक ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ। 

नेपाल टेलिकमले ग्राहकहरूलाई सतर्क रहन र यस्ता भ्रामक सूचनाको शिकार हुन नदिन विशेष ध्यान दिन पुनः आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।