ज्ञानु आचार्य , २१ माघ ०८१
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ। केन्द्रीय महासचिव पदका लागि केन्द्रीय संगठन विभाग प्रमुख सोनाम सिंह स्याङ्तानले आफ्नो दाबी प्रस्तुत गरेका छन्। महासचिव पदका अन्य प्रमुख दाबेदारहरूमा जि.एस गुरुङ, कृष्ण शर्मा लगायतका नेताहरू पनि छन्।
पार्टीका एक उच्च स्रोतका अनुसार स्याङ्तानले संगठन सुदृढीकरण, नीति निर्माण र पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्ने आफ्नो भिजनसहित उम्मेदवारीको तयारी गरेका छन्। वामपन्थी आन्दोलन हुँदै समाजवादी धारको नेतृत्वमा निरन्तर क्रियाशील स्याङ्तानले संगठन निर्माणमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
त्यस्तै, जि.एस गुरुङ र कृष्ण शर्माले पनि आफ्नो दाबी बलियो रहेको बताउँदै आएका छन्। पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया खुला प्रतिस्पर्धामार्फत हुने भएकाले महाधिवेशनमा कस्तो समीकरण बन्ने हो भन्ने चासो बढेको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आगामी माघ २७ देखि २९ गते कमलादीमा सम्पन्न हुने तयारीमा छ। यस महाधिवेशनले पार्टीको सांगठनिक स्वरूपलाई थप स्पष्ट पार्ने र भविष्यको नीति-रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
सोनाम सिंह स्याङ्तान: विद्यार्थी आन्दोलनदेखि समाजवादी नेतृत्वसम्मको यात्रा
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का महासचिव पदका प्रत्याशी सोनाम सिंह स्याङ्तान नेपाली वाम आन्दोलन, जनयुद्ध, र समाजवादी राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन्। २०३० सालमा सिन्धुली जिल्लाको अमले गाउँमा जन्मिएका स्याङ्तान २०४६ सालमा अनेरास्ववियु (छैटौं) मा आबद्ध हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए।
२०४८ सालमा ‘छहरा साँस्कृतिक परिवार’ मा संलग्न भई सांस्कृतिक माध्यमबाट राजनीतिक सचेतना फैलाउने कार्यमा लागे। २०५० सालमा ‘एकता केन्द्र’ को पार्टी सदस्य भएपछि उनको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्यो।
२०५१ सालमा उनी योङ कम्युनिस्ट लिग (YCL) को पुर्वाञ्चल सदस्य बने। २०५२ सालदेखि सशस्त्र जनयुद्धमा पूर्ण रूपमा सहभागी भई भूमिगत राजनीतिक यात्रा सुरु गरे। जनयुद्धको क्रममा सर्लाही, सिन्धुली, मकवानपुर लगायतका जिल्लाहरूमा विभिन्न लडाइँहरूमा सहभागी हुँदै २०५५ सालमा जिल्ला कमिटी सदस्य बने। २०५८ सालमा जिल्ला सेक्रेटरी, २०५९ सालमा जिल्ला इन्चार्ज हुँदै उनले युद्धकालीन रणनीतिक भूमिकाहरू निर्वाह गरे।
शान्ति प्रक्रियापछिको यात्रा
जनयुद्धपछिको संक्रमणकालमा पनि उनी पार्टी संगठन निर्माणमा सक्रिय रहे। २०७२ साल मंसिरदेखि ‘नयाँ शक्ति निर्माण अभियान’ मा संलग्न भई, २०७३ साल जेष्ठमा घोषणा भएको ‘नयाँ शक्ति पार्टी नेपाल’ को केन्द्रीय नेतृत्वमा रहे।
त्यसपछि २०७६ सालमा ‘समाजवादी पार्टी’, २०७७ सालमा ‘जनता समाजवादी पार्टी (जसपा)’, २०७९ सालमा ‘नेपाल समाजवादी पार्टी (नेसपा)’ हुँदै विभिन्न केन्द्रीय जिम्मेवारी सम्हाले। २०८० साल चैत देखि नेपाल समाजवादी पार्टीकाे पोखरामा सम्पन्न विधान अधिवेशनपछि ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ को केन्द्रीय संगठन विभाग प्रमुखका रूपमा नियुक्त भएका हुन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।