पोखरा, २२ जेठ २०८२
५३औं विश्व वातावरण दिवस २०२५ को अवसरमा पोखरा महानगरपालिका–१७, घारीपाटनमा “प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने मूल नाराका साथ सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमले वातावरण संरक्षणको चेतना फैलाउने, प्लास्टिकजन्य फोहोरको संकटबारे जानकारी दिने, र व्यक्तिगत तथा संस्थागत प्रतिवद्धता सुदृढ गर्ने उद्देश्य बोकेको थियो। सरसफाइका माध्यमबाट समाजमा परिवर्तन ल्याउन सकिने सन्देशसमेत कार्यक्रममा व्यक्त गरियो।
कार्यक्रमको आयोजना र सहभागिता
कार्यक्रम प्रकृति मानव केन्द्रित जन अभियान नेपालको पहलमा आयोजना गरिएको थियो। यसमा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक, सामाजिक र स्वास्थ्य संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको रूपमा पोखरा–१७ की वडा अध्यक्ष राधिकादेवी हमाल रहनु भएको थियो। सहभागी संस्थाहरूमा हिमालयन म्युजियम टोल विकास संस्था,हिमालयन आँखा अस्पताल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय,हिमालयन बोर्डिङ स्कुल , हिमालयन म्युजियम आमा समूह,जिल्ला सहकारी संघ लिमिटेड, कास्की, टिम अर्गनाइजिङ लोकल इन्स्टिच्युसन – टोली रहेका थिए।
कार्यक्रम अन्तर्गत हिमचुली मार्ग, मुनाल मार्ग, म्युजियम मार्ग लगायतका क्षेत्रहरूमा सरसफाइ कार्य सञ्चालन गरियो। सहभागीहरूले हातमा झोला, ग्लोब्स , झाडु , आँसी लिएर सडक र वरपरका क्षेत्र सफा गरे। सरसफाइसँगै जनचेतनामूलक प्लेकार्ड, नाराहरू र माइकबाट सन्देश प्रसारण गर्दै प्लास्टिक प्रदूषणविरुद्धको जागरण अभियान पनि सँगै चलाइएको थियो।
कार्यक्रममा प्रकृति - मानव केन्द्रित जनअभियान , नेपाल का अध्यक्ष बिन्दुराज सापकोटाले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार हरेक वर्ष विश्वभर १ करोड १० लाख टन प्लास्टिक फोहोर जलीय प्रणालीमा पुग्छ। नेपालमा दैनिक ४५० मेट्रिक टनभन्दा बढी प्लास्टिक फोहोर उत्पादन हुन्छ। काठमाडौं उपत्यका र नदीहरूमा प्लास्टिकको अव्यवस्थित विसर्जन उच्च दरमा भइरहेको छ। प्लास्टिक प्रदूषणले जलवायु परिवर्तन, जैविक विविधताको विनाश, र प्रदूषणको त्रासदीलाई अझ गम्भीर बनाएको छ। प्लास्टिकजन्य वस्तुहरू – बोतल, क्याप, किनमेल झोला, कप, पराल, चुरोट आदिले प्रदूषणको मुख्य हिस्सा ओगटेका छन्। यसले मानव स्वास्थ्यमा क्यान्सर, प्रजनन समस्या, र स्नायु विकारहरू निम्त्याउने खतरा पनि बोकेको छ।
विश्व सन्दर्भ र स्थानीय प्रयास
सन् २०२५ को विश्व वातावरण दिवस दक्षिण कोरियाको जुजु टापुमा आयोजना हुँदैछ। संयुक्त राष्ट्रसंघले १९७२ देखि सुरु गरेको यो दिवसले प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि Refuse, Reduce, Reuse, Recycle, Rethink (अस्वीकार, घटाउने, पुनः प्रयोग, पुनःप्रक्रिया, पुनर्विचार) को अभ्यासलाई प्रवर्द्धन गर्दै आएको छ।
नेपालमा पनि यस अभियानको सशक्त प्रतिबिम्ब पोखराको यो कार्यक्रममा देखिएको छ। सहभागीहरूमध्ये धेरैले अबको जीवनशैलीमा प्लास्टिकको प्रयोग घटाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वातावरणीय चेतनालाई सशक्त बनाउन प्रेरणादायी नाराहरू प्रस्तुत गरिए, जसमध्ये केही यसप्रकार छन्:
“प्रकृतिमा जात छैन, प्रदूषण हुन्छ; त्यसैले नढारौं, प्रकृतिलाई माया गरौं।”
“पृथ्वी बचाऔं, आफूलाई बचाऔं।”
“प्रदूषण कम गर्न हरियाली प्रवर्द्धनमा जोड दिऔं।”
“वन संरक्षण गरौं – प्रदूषण हटाई देश सिंगारौं।”
“कार्बन उत्सर्जन कम गरौं – जलवायु परिवर्तनलाई सुधार गरौं।”
“एक ग्रह, धेरै प्रजाति – जैविक विविधता नै धरोहर हो।”
“सात अर्ब जनताको सपना – शान्तिपूर्वक बाँच्न पाउने अधिकार।”
“हरियो अर्थतन्त्र राष्ट्रको प्रगति – तपाईंको सहभागिता कति?”
“समस्याः जलवायु परिवर्तन, समाधानः विश्वव्यापी साझेदारी।
यस्ता कार्यक्रमले सरसफाइ र चेतनाका माध्यमबाट स्थानीय तहबाटै विश्वव्यापी संकटको समाधानतर्फ कदम चाल्न सकिन्छ भन्ने सन्देश दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।