तेश्रो ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनका लागि कार्यपत्र आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, असार १२, २०८२

हिमाली संस्कृति र वैदिक दर्शनका विविध पक्षहरूमा गहिरो विमर्श तथा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले तेश्रो ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन (ICRH-025) पोखरामा आयोजना गरिने भएको छ। सम्मेलन मङ्सिर २१ र २२ गते (डिसेम्बर ७ र ८, २०२५) मा हुने तय भएको छ।

यसअघि सन् २०२३ र २०२४ मा सम्पन्न सम्मेलनहरूको निरन्तरतास्वरूप यस वर्षको सम्मेलनले ‘समृद्धिका लागि हिमाली संस्कृति’ भन्ने मूल विषयलाई लिएर गरिनेछ भने ‘कालिगण्डकी उपत्यका: हिमाली संस्कृतिको एक उद्भव स्थल’ भन्ने उपशीर्षकमा केन्द्रित रहनेछ।

असार ४ गते कीर्तिपुरमा सम्पन्न सम्मेलन प्राज्ञिक समितिको बैठकले सम्मेलनको प्रारम्भिक तयारी थाल्दै विद्वान, अनुसन्धानकर्ता तथा विषय विज्ञहरूलाई कार्यपत्र पेश गर्न आह्वान गरेको छ।

सम्मेलनले वैदिक मूल्य र हिमाली संस्कृति बीचको अन्तर्सम्बन्धको खोजी गर्नुका साथै कालिगण्डकी उपत्यकाको भौगोलिक, ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको प्रचार–प्रसारमा योगदान दिने अपेक्षा गरिएको छ। युवा विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको सक्रिय सहभागिता र नेटवर्किङलाई समेत प्राथमिकतामा राखिएको सम्मेलनमा शैक्षिक कार्यपत्रहरू प्रस्तुत, सांस्कृतिक प्रदर्शनीहरू, र थप विविध सत्रहरू समेत समावेश गरिनेछ।

सम्मेलनसम्बन्धी प्रमुख मितिहरूः

  • कार्यपत्रको सारांश बुझाउने अन्तिम म्याद: साउन १६, २०८२ (August 1, 2025)
  • सारांश स्वीकृतिको सूचना: भदौ १५, २०८२ (August 31, 2025)
  • पूर्ण कार्यपत्र बुझाउने म्याद: असोज ३, २०८२ (October 16, 2025)
  • पूर्ण कार्यपत्र स्वीकृतिको सूचना: कात्तिक १४, २०८२ (October 31, 2025)

सम्मेलनमा नेपालका प्रमुख विश्वविद्यालयहरू, शैक्षिक तथा अनुसन्धान संस्थानहरू, स्वतन्त्र अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय विद्वानहरू तथा हिमाली क्षेत्रका बौद्धिक अगुवाहरूको सहभागिता हुने  बिषयमा सम्मेलन संयोजक दामोदर त्रिपाठीले जागौँ नेपाल मिडियालाई जानकारी दिनुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।