काठमाडौं, २१ जेठ २०८१
निर्वाचन आयोग, नेपालले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम, झण्डा र लोगो अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै कडा चेतावनी दिएको छ। आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले जेठ १६ गते जारी गरेको पत्रमार्फत यादवलाई यस्ता कार्य पुनः नगर्न चेतावनी दिँदै, उल्लंघन गरेमा कानूनी कारबाही हुने जानकारी दिएको हो।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट प्राप्त उजुरीका अनुसार, रमेश प्रसाद यादवले मिति २०८२ जेठ ४ गते जारी एक प्रेस विज्ञप्तिमा आफुलाई सो पार्टीको महासचिवका रूपमा उल्लेख गर्दै पार्टीको झण्डा र लोगो प्रयोग गरेका थिए। यस कार्यले जनस्तरमा भ्रम सिर्जना गर्नुका साथै दलको छवि प्रभावित हुने भन्दै आयोगमा उजुरी परेको थियो।
निर्वाचन आयोगको अभिलेखअनुसार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मिति २०७८ फागुन ५ गते दर्ता भएको दल हो, जसको दर्ता नम्बर १८२ रहेको छ। आयोगका अनुसार रमेश प्रसाद यादव पार्टीको महासचिव मात्र नभई कुनै पनि पदमा नरहेको स्पष्ट देखिन्छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ मा स्पष्ट व्यवस्था छ — कुनै दर्ता भइसकेको दलको नाम, झण्डा वा चिन्ह अरूले प्रयोग गर्न मिल्दैन।
यादवको उक्त कार्यलाई कानूनी उल्लंघनको रूपमा लिँदै आयोगले तत्काल यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ। आयोगको पत्रमा भनिएको छ:
"अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गरिन्छ, साथै गरे–गराएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।"
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।