रियाले कन्टेन्टका रूपमा शिक्षा क्षेत्रलाई नै किन रोजिन् त ? यसमा उनको आफ्नै जवाफ छ, ‘पढ्नु पढाउनु मेरो रुचिको विषय हो, यसलाई मैले सोसल मिडियामार्फत ज्ञान बाँड्ने कोसिस गरेको हुँ ।’ विद्यार्थीलाई ‘बायोडाटा’ बनाउनेदेखि लिएर अन्तर्वार्तालाई कसरी ‘फेस’ गर्ने भन्नेसम्मका ‘आइडिया’ दिइरहेकी हुन्छिन् । उनलाई लाग्छ, विद्यार्थीहरू स–सानो कुरामा अल्झिरहेका हुन्छन् । मैले पस्केका ‘कन्टेन्ट’ लक्षित सामान्य भिडियोहरूले पनि धेरैलाई मद्दत गरिरहेको छ । उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषयहरूका बारेमा जानकारी दिने गरेकी छन् । फेसबुक संस्थापक मार्क जुकरबर्ग, अन्तर्राष्ट्रिय कम्पनी केएफसी, गुगल, माइक्रोसफ्टका बारेमा पनि उनले भिडियो बनाएकी छन् । नयाँ भिडियो बनाउन, बिजनेस आइडिया दिन कन्टेन्टका लागि उनले धेरै अध्ययन, अनुसन्धान गर्ने गरेको बताइन् । भन्छिन्, ‘नयाँ विषयवस्तुदेखि ट्रेन्डका कुराहरूलाई पनि अनुसन्धान गरेर स्क्रिप्ट निर्माणको तयारी गर्ने गरेकी छु ।’
अरूलाई कमाउन सिकाउँदै आफैं पनि कन्टेन्ट क्रिएटरका रूपमा राम्रो आम्दानी गर्न सफल भएकी छन्, रिया । विभिन्न ब्रान्डहरूसँगको सहकार्यले उनलाई आम्दानीको थप बाटो खुलाइदिएको छ । कति कन्टेन्ट बनाएर ब्रान्डलाई दिने गरेकी छन् भने कति कन्टेन्टहरू आफ्नै पेजमार्फत पोस्ट गर्ने गरेकी छन् । सामाजिक सञ्जालबाटै परिचित बनेकी रिया आफूजस्तै गरी विषयगत कन्टेन्ट क्रिएटरका रूपमा अझै धेरै आउन नसकेको बताउँछिन् । ‘कन्टेन्ट क्रिएटरकै रूपमा अगाडि बढ्नेहरूको संख्या त बढ्दो छ तर विषयगत रूपमा कन्टेन्ट बनाउनेहरू त्यसमा पनि महिलाहरूको संख्या अत्यन्त न्यून छ,’ उनले भनिन् ।
ऐतिहासिक विषयवस्तुहरूलाई भिडियोमार्फत उजागर गरिरहेकी अर्की कन्टेन्ट क्रिएटर हुन्, श्रेदी प्रधान । उनलाई भने ऐतिहासिक र खोजमूलक विषयहरूका बारेमा जानकारी दिन पाउँदा खुसी मिल्ने गरेको बताइन् । ‘नेपालका धेरै युवा पुस्ताले थाहा नपाएका ऐतिहासिक विषयवस्तु र घटनाक्रमहरू प्रशस्तै छन्, जसलाई जानकारी दिन आवश्यक पनि छ,’ श्रेदीले थपिन्, ‘नेपालको इतिहासका बारेमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने गरेको छ तर हामीमध्ये धेरैलाई हाम्रै इतिहासका बारेमा पनि थाहा भइरहेको हुँदैन । त्यसैले हाम्रै इतिहासका बारेमा चेतना दिन पनि कन्टेन्ट बनाउने गरेकी छु ।’
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।