संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता: मन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, पुस ५ 

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको प्रमुख आवश्यकता भएको बताएका छन्। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै उनले शिक्षामा सुधार गर्दै जीवन उपयोगी र नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए।

मन्त्री थापाले शिक्षामा प्रदेश सरकारले गरेको लगानीलाई स्थानीय तहले समन्वयात्मक ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। “स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ,” उनले भने। संस्कार, भाषा, भेषभूषा र संस्कृतिलाई आत्मसात गर्दै विद्यार्थीलाई नैतिक शिक्षामा सक्षम बनाउनुपर्ने उनकाे धारणा थियो।

उनले प्राविधिक र जीविकोपार्जन केन्द्रित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेश सरकारले सञ्चालन गरेका ‘अभिभावक शिक्षा’ र ‘सिक्दै कमाउँदै’ जस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय प्रतिनिधिहरूलाई निर्देशन दिए।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले शिक्षा योजना निर्माणलाई समयमै सम्पन्न गर्न कार्यशालाको आयोजना गरिएको जानकारी दिए। “यो कार्यशालाले शिक्षा योजना निर्माणलाई गति दिनेछ,” उनले भने।

शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले २०७८ सालको शिक्षा नीति अनुरूप योजना निर्माण गरिनुपर्ने बताए। उनले योजना विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरूको सहभागिता थियो। सहभागीहरूले स्थानीय तहमा शिक्षा योजना निर्माण र कार्यान्वयनका विविध पक्षमा छलफल गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।