पाेखरा , ०५ पाैष ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन कन्या क्याम्पस पोखरा ३ को सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले सुरज पौडेललाई अध्यक्षमा चयन गरेको छ । नवगठित कार्यसमितिमा डा. श्रीधर न्यौपाने उपाध्यक्ष, डा. पीताम्बर पौडेल सचिव, टेकनाथ पौडेल कोषाध्यक्ष, गायत्री पराजुली अधिकारी सह-सचिव र अम्बिकाप्रसाद भट्टराई, पुण्यप्रसाद भट्टराई, वसन्त चालिसे, शान्ति कँडेल न्यौपाने, कृष्णप्रसाद बास्तोला र लोकचन्द्र खनाल सदस्य रहेका छन् । सभाले प्रतिष्ठानको एक कार्यकालको प्रगति समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्ययोजना बनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानमूलक जर्नल 'अवधारणा' र 'अवधारणा सिर्जना' को नयाँ अङ्कको लोकार्पण गरिएको थियो । जर्नलमा विभिन्न विषयमा लेखिएका अनुसन्धानमूलक लेखहरू समावेश गरिएका छन् ।
त्यसैगरी कार्यक्रममा तारापाखेद्वारा स्थापित तथा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानद्वारा सञ्चालित 'अनिल सिर्जनशील पुरस्कार' बाट भूपति ढकाल ‘कमल’ लाई सम्मानित गरिएको छ । रु. ११,१११ पुरस्कार राशी सहित ताम्रपत्र र दोसल्लाले सम्मानित गरिएको हो । पुरस्कार ग्रहण गर्दै भूपति ढकाल ‘कमल’ले यो पुरस्कारले आफूलाई अझ मेहनतका साथ काम गर्न प्रेरित गरेको बताउनुभयो । उक्त कार्यक्रम विष्णुप्रसाद शर्माको अध्यक्षता तथा सामाजिक, शैक्षिक व्यक्तित्व हेरम्ब कोइरालाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।