संविधानसभा सदस्य तथा सेभ आवर हिमालय फर्स्ट, नेपालका अध्यक्ष डिलबहादुर नेपाली (डि.बी.) द्वारा लेखिएको कविता “आकाश हाम्रो हिमाल” (२०७५ माघ २५) मा नेपालका हिमाली क्षेत्रहरूको संवेदनशीलता र पर्यावरणीय संरक्षणको आवश्यकता उजागर गरिएको छ।
कविताले नेपालका पहाड, हिमाल, र वातावरणीय चुनौतीहरूको गहिरो अवलोकन गर्दै, छिमेकी राष्ट्रहरूबाट हुने प्रदूषण र जलवायु परिवर्तनका असरप्रति सचेत गराउँछ। डि.बी. नेपालीको गहिरो विचारशीलता र कवितामार्फत व्यक्त गरिएको भावले पर्यावरणीय न्यायको महत्त्वलाई थप बल दिएकाे छ।
कविता: आकाश हाम्रो हिमाल
✍️डि.बी. नेपाली
हाम्रो आकाश विशाल छ
नेपालको आकाश साँघुरो छ।
भारत र चीनकाे प्रदूषणले
सूर्यकाे किरण पनि मधुराे छ।
जमिनमा सीमा केर्न सक्छौं,
समुद्रमा डोरीले घेर्न सक्छौं।
आकाश साझा, न फेर्न सक्छौं,
न चाहे अंगालोमा वेर्न सक्छौं।
समुद्रतलको धातुमयी चट्टानले
हाम्रो पहाड हिमालय बनेको छ।
चुम्बकीय शक्ति सिर्जना हुन्छ,
वायुमण्डलबाट सब तानेको छ।
आणविक भट्टी र औद्योगिक
विकासले लिएको छ तीव्र गति।
प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा
जैविक विविधतामा पुगेको छ क्षति।
हिमाल र उच्च पहाडी क्षेत्रमा
हिमपात भएको छ देख्दा सेतो।
परीक्षण गर्न आवश्यक छ अब,
छ कि हिमसँगै रसायनिक लेतो।
अक्सिजनमा कति हानिकारक कण,
हावा, पानी, माटो पनि प्रभावित हुने भए।
विषादीयुक्त श्वाससँगै घुसिरहेको बाण,
प्राणी-वनस्पति स्वच्छ हुने दिनहरू गए।
छिमेकीको विकास र प्रगतिको नाममा
मुश्किल हुँदै जाने भयो हिमाल देख्न सेतै।
समयमा सावधानी अपनाउन नसकेमा
विषको भण्डार बन्दी बढ्दै जान सक्छ त्यतै।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।